15.4 C
Lisbon
Thursday, April 3, 2025
Homeबिचार/विविधज्ञानेन्द्रलाई उक्साउने एउटा मान्छे थियो, भन्दो रहेछ– सरकार, हान्दिए हुन्छ, इन्डिया साथमा...

ज्ञानेन्द्रलाई उक्साउने एउटा मान्छे थियो, भन्दो रहेछ– सरकार, हान्दिए हुन्छ, इन्डिया साथमा छ

 

लामो कथा छोटोमा भन्ने हो भने विस्थापित राजा ज्ञानेन्द्रको मति मूढ छ।

एउटा सुस्त मनस्थितिको बालकलाई आमाले छेउको पसलमा तेल किन्न पठाइन्। दुई आनाको तेल किन्न बालकले पिँधमा बिट हालेको एउटा सानो काँसको कचौरा बोकेको थियो। पसलेले तेल कचौरामा खन्याइदियो। पैसा तिरेको भन्दा तेल अलिकति उभ्रियो। पसलेले सोध्यो, ‘यो तेल कता राखौँ?’

बालकले कचौरा घोप्ट्याएर भन्यो, ‘यी, यहाँ मुन्तिर ठाउँ छ त!’

पसलेले त्यसै गरिदियो। बालक घर पुग्यो। आमाले तेल खोजिन्। बालकले देखायो, ‘यी यहाँ छ। देख्नुभएन?’

रिसाउँदै आमाले सोधिन्, ‘तेल घोप्ट्याएर आइस्? खोइ तेल?’

बालकले कचौरा घोप्ट्याएर भन्यो, ‘यी, यहाँ मुन्तिर ठाउँ छ त!’

पसलेले त्यसै गरिदियो। बालक घर पुग्यो। आमाले तेल खोजिन्। बालकले देखायो, ‘यी यहाँ छ। देख्नुभएन?’

रिसाउँदै आमाले सोधिन्, ‘तेल घोप्ट्याएर आइस्? खोइ तेल?’

बालकले बिटमा जमेको तेल देखाउन खोज्यो। तर, कचौराको दुवैतर्फको तेल पोखिइसकेको थियो।

ज्ञानेन्द्र शाहको तेजोवध गर्न खोजेको होइन। तेज भए पो? झुक्किएर दुईपटक राजा हुँदा पनि राज्याभिषेक गर्न नपाएका ज्ञानेन्द्र शाहको जीवनमा पैसा धेरै भयो। पैसाभन्दा बढी चिन्ता थपियो। स्वार्थ घटेन। गद्दी त्यागेको नाटक गर्न जति सरल देखिन्छ, मोह त्याग्नु त्यो भन्दा दुष्कर हुन्छ। अन्ततः ज्ञानेन्द्र शाह भुइँको टिप्दा पोल्टाको खसेको चोरको कथाका एक पात्रमा संकुचित भएका छन्।

ज्ञानेन्द्र शाह अंग्रेजी भाषा मकै भुटेको भन्दा तीव्र गतिमा बोल्छन्। उनलाई एउटा यो अंग्रेजी वाक्य उपहार दिऊँ?

मान्छेको मगजका दुई भाग हुन्छन्। राइट (दायाँ) र लेफ्ट (बायाँ)। यो वाक्य त्यसैसँग सम्बन्धित छ। यो वाक्य कसले बनायो, थाहा छैन। तर गजब बनायो। वाक्य भन्छ, ‘देयर इज नथिङ राइट इन माइ लेफ्ट माइन्ड, एन्ड देयर इज नथिङ लेफ्ट इन माइ राइट माइन्ड।’

हरेक परिवारका कमसेकम एकजना विदेशमा रहेका नेपाली पाठकलाई यो सरल अंग्रेजी वाक्यको अनुवाद गर्नुपर्ने बाध्यता छैन। सबैले बुझेका छन्। नबुझेका केवल विस्थापित राजा ज्ञानेन्द्र शाहले हुन्।

राजा शब्दको उद्भव राजनीतिबाट भएको हो। जसले राजनीति बुझेकै छैन, त्यो राजा कसरी हुनसक्छ? ज्ञानेन्द्र शाहले व्यापार बुझेका थिए। शाही सत्ताको आडमा र व्यापारको छद्ममा पञ्चायती सत्ता हुन्जेल उनको गिरोहले केके तस्करी गरेन? वीरेन्द्रलाई ओझेलमा पारेर ज्ञानेन्द्र र ऐश्वर्यको समूहले केके गरेन? अहिले मूर्ति तस्करीको कुरा मात्रै हुँदैछ। अमेरिकामा ओलम्पिक हुँदा नेपालबाट फुटबलमा कोकिन भरेर कसले पठायो? त्यो बेला ज्ञानेन्द्र शाहको ठाउँमा सम्पूर्ण खतबात आफ्नो टाउकोमा लिन बाध्य कृष्णमान श्रेष्ठ नामका एक व्यापारीले सन् २००० तिर यो लेखकलाई भनेका थिए, ‘लोभमा परियो। बलिको बोका बनियो। म त सरकारले बचाउँछ भनेको, के गर्थ्यो?’

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सोधे थाहा हुन्छ, बंगालको खाडीमा ‘नेपालको राष्ट्रिय झण्डा फहराउने’ भन्दै एउटा बिग्रेको जहाज किन्न ज्ञानेन्द्रले कसरी नेपाल सरकारको अर्थ मन्त्रालयलाई जमानी बसिदिन दबाब दिएका थिए। कृष्णप्रसाद भण्डारी आफ्नो विवेकको भाषा बोल्ने मान्छे हुन्। उनले यो मिल्दैन भनिदिए। ज्ञानेन्द्रका गुमस्ता त्यसपछि तत्कालीन अर्थमन्त्री भेषबहादुर थापालाई दबाब दिन पुगे। अर्थ मन्त्रालयले हुँदैन भनेपछि थापालाई बात लगाएर निकालियो। यो कुरा अलिअलि थापाले आफनो किताबमा पनि लेखेका रहेछन्।

ज्ञानेन्द्र शाह मूर्ख नै हुन् 
छयालीस सालको आन्दोलनले निरङ्कुश राजतन्त्रको छत्रछायामा पुल्पुलिएको पञ्चायती व्यवस्था ढालेपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई तत्कालीन राजा वीरेन्द्रसँगको साप्ताहिक ‘दर्शनभेट’मा दरबार पुगेका थिए।

संविधान लेख्न तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा एउटा ‘सुझाव’ (सुधार होइन) आयोग बनेको थियो। (सदस्य सचिव वामपन्थी पृष्ठभूमिबाट आएर दरबारिया बनेका कर्मचारी सूर्यनाथ उपाध्याय थिए। जो पछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेर राजाविरोधी कांग्रेसीहरूलाई छानीछानी मुद्दा लगाउन एक कारक भए।)

त्यहाँ ज्ञानेन्द्र पनि हातमा ‘कन्याक’ भनिने उच्च स्तरको ब्रान्डी लिएर चुस्की लगाउँदै थिए। कर्मकाण्डी बाहुन भट्टराईले वीरेन्द्रलाई अभिवादन गर्नुअघि नै ज्ञानेन्द्र पड्किए, ‘के हो पीएम? तपाईंको संविधानले त मलाई भूतपूर्व अधिराजकुमार बनाउने रे? यस्तो पनि हुन्छ?’

प्रत्युत्पन्न मतिका धनी कृष्णप्रसाद भट्टराईले जवाफ दिए, ‘हजुर त पूर्वमहाराजाधिराज नै होइबक्सिन्छ त सरकार! अब किन अधिराजकुमारको चासो लाग्यो र?’

राजा वीरेन्द्र त्यसपछि हाँस्दा छचल्किएको महँगो त्यो ब्रान्डी पोखिएर ज्ञानेन्द्रले त्यो बेला लगाएको नाइकीको स्पोर्ट सुमा पोखिएको थियो। लेखकलाई यो कुरा सुनाउने सेनाका तत्कालीन अधिकारीहरू अहिले सेनामा छैनन्। तर ज्युँदै छन्।

ज्ञानेन्द्र शाह असी वर्ष टेक्न टेक्न लागेका एक पीडित लुब्ध र क्षुब्ध मान्छे हुन्। उनले आफ्नै छोरालाई उचित संस्कार दिन सकेनन्। पारस शाहले लोकगायक प्रवीण गुरुङलाई नसाले मात्तिएर गाडीले किचेर मार्दा ‘प्रवीणका पनि सन्तान छन्, उनको जीवन दुःखजिलो हुनेछ। मेरो छोरोले राज्यशक्तिको दुरूपयोग गरेर उन्मुक्ति पाउन हुँदैन’ भन्ने किञ्चित सोचेनन्। पारस शाहको ठाउँमा अर्को नक्कली चालक खडा गर्न आफ्नो प्रभावको दुरूपयोग गरे। पारसलाई कारबाही गर्नुपर्ने माग गर्दै आम जनताले एक किलोमिटर लामो तुलमा हस्ताक्षर अभियान चलाए। ज्ञानेन्द्र शाहले राजा वीरेन्द्रको पाउमा परेर बिन्ती बिसाए, ‘मेरो एउटा छोरो छ। बदमास छ। तर हजुरको पनि रगत हो। बचाउनु पर्‍यो।’

त्यसपछि दरबार हत्याकाण्ड भयो। ज्ञानेन्द्रका सकल सन्तानलाई केही पनि भएन। जो मरे, सबै पारिवारिक र व्यापारिक रूपले ज्ञानेन्द्रका खिलाफमा थिए। व्यापारिक अन्तर्द्वन्द्व थियो। कान नसुन्ने कोमललाई कसरी गोली लाग्यो, त्यो दुर्घटना थियो वा नियोजित? ज्ञानेन्द्रले घटना भएको त्यो त्रिभुवन सदन नै भत्काइसकेपछि अब केको छानबिन? ‘फरेन्सिक’ साक्ष्य र साक्षी नै विलुप्त भइसक्यो। अब दरबार हत्याकाण्डको छानबिन हुन गाह्रो छ।

अथ प्रभाकर उवाच 
कलकत्ताको मोहम्मद लारी नाम गरेको एउटा लागुपदार्थ तस्करले नेपालमा ज्ञानेन्द्र शाहका गुमस्तालाई भेटी चढाएर सुरु गरेको एउटा होटल थियो– होटेल एभरेस्ट सेराटन। नयाँ बानेश्वर उकालोको घाँटीमा बनेको एभरेस्ट सेराटन होटल पञ्चायतकालमा लागुपदार्थको निर्बाध खेलो हुने एउटा विन्दु थियो। पञ्चायती व्यवस्था ढलेपछि राजकाज मात्र होइन, रजगज गर्ने मान्छे पनि फेरिए। आर्थिक खुलापनको आवरणमा होटल एभरेस्टका मालिकहरूले जुवा खेलाउन थाले। यो होटल राजारजौटाका सन्तानले सित्तैमा अभिसार गर्ने एउटा थलो थियो।

पञ्चायतकालमा ‘लिम्बुवानको मालिक मै हुँ’ भन्ने दम्भ बोकेका पूर्व पाँचथरका एउटा दरबारिया पद्मसुन्दर लावतीले खुब रजगज मच्चाएका थिए। छोरो सगुन लावतीलाई अंग्रेजहरूले पढाउने बुढानीलकण्ठ स्कुलमा भर्ना दिलाएका थिए। पद्मसुन्दरका छोरा सगुन र ज्ञानेन्द्रको छोरा पारस एउटै स्कुलमा पढ्थे। दुवैको त्यो होटलको बाथरुममा भेट भयो। सगुन जाँडले मात्तिएका थिए, उनले पारसलाई ‘तँ’ भनेछन्। पारसले उसलाई उसको औकात देखाउने गरी गोदेछन्।

सँगै हेर्दै गरेका राजा ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकर शमशेरका छोरा सिद्धार्थ झगडा छुट्याउन के पुगेका थिए, पारसले ले उनैलाई झम्टिए। सगुन मौका पाएर भागे। सिद्धार्थ राणा पारसको कोपभाजनमा परे।

सगुन कता भागे, ठेगान भएन। तर त्यसको छ महिना ज्ञानेन्द्र शाहको प्रभाकर शमसेरसँग बोलचाल बन्द भयो। ज्ञानेन्द्र आफै झुकेर प्रभाकर शमशेरलाई छोराको कारण माफी मागेपछि मात्रै उनले पाउने विदेशी खाताको कारोबार चल्न थाल्यो। सत्तामा हुँदा त ज्ञानेन्द्रको औकात यो थियो भने अहिले के होला?

ज्ञानेन्द्रको बिजोग छ। विदेशमा कसैले मान्ने अवस्था छैन। सम्पत्ति सबै नेपालमा अड्किएको छ। यस्तो अवस्थामा राजकाजमा हात हाल्न सल्लाह दिने मान्छे को होला?

माघ १९ को सैनिक प्रतिगमनका निम्ति उक्साउने एउटा मान्छे थियो। जसको मृत्यु भइसक्यो। लेखकले अहिले लेखेको भत्ता खाएर लेख्ने कार्यपत्र होइन। त्यसैले नाम नलेख्ने वा नसम्झिने छुट छ। तर त्यो मान्छे विश्व हिन्दु महासंघको नेपाल नेता थियो। नेपाली सेनाको ठूलै मान्छे। ज्ञानेन्द्र शाहको शाही पार्श्ववर्ती! यो मान्छेलाई राजाको शासन सकिएपछि एउटा इमानदार प्रहरी निरीक्षकले हतकडी पनि लगाएका थिए। तर त्यो मान्छे ज्ञानेन्द्रलाई भन्दो रहेछ, ‘सरकार, हान्दिए हुन्छ, इन्डिया साथमा छ। संसारभरिका हिन्दु हाम्रै हुन्। हान्दिऊँ!’

हान्न त खोजेकै हो। त्यसको केही महिनापछि गोरखाका धुरन्धर कथावाचक पण्डित नारायणप्रसाद पोखरेलको हत्या भयो। हिन्दु अभियन्ताका रूपमा त्यो बेला पोखरेल हरेक कार्यक्रमबाट करोडौँ उठाउँदै थिए। शाही पार्श्ववर्तीलाई यो कुरा अपच भयो। पोखरेल आँखाका कसिंगर भए। सुरुमा माओवादीलाई बात लागेको थियो। माओवादीले भन्यो, ‘हामीले होइन है।’

गोरखाका मान्छे अझै भन्छन्, ‘हाम्रा पण्डितलाई राजाले मारेको हो।’

तर तुलसी गिरिजस्ता मुर्जा फुस्किएको तोप पड्काएर त्यो बेला ज्ञानेन्द्रले के गर्न खोजेका थिए? अहिले पनि ज्ञानेन्द्रसँग मान्छे छैनन्। नत्र नवराज सुवेदीजस्तो गौरीघाटबाट बागमतीमा सबैभन्दा पहिले आफ्नो पिसाब बगाउने मान्छे ल्याउनुको कारण के हो? ज्ञानेन्द्रका नाति अहिले क्वान्टम कम्प्युटरका बारेमा अलिअलि जानकार होलान्। ज्ञानेन्द्र भन्ने मान्छे अझै चिनियाँले आविष्कार गरेको चार हजार वर्ष पुरानो ‘अबाकस’मै रुम्मल्लिएका छन्।

केके खेपेका छैनन् विस्थापित राजाले? पानीमा डुब्न लागेको, पौडिन नजान्ने एउटा अदनालाई एउटा सुकेको दाउरो पनि आशा हो। ज्ञानेन्द्र शाहसँग अब त्यो सुकेको दाउरो पनि छैन। बेला–कुबेला आउने उनको वक्तव्य हेर्‍यो, कविता बरु बुझ्न सकिन्छ। उनको भाषा दुरुह हुन्छ। कस्ता मान्छेले लेख्छन् यिनको वक्तव्य?

नेपालीले आफ्नो मातृभूमिप्रति गर्व गर्नलायक क्षण कहिले हो? पृथ्वीनारायण शाह, जो राष्ट्र निर्माता हुन् वा एक सामन्ती अतिक्रमणकारी? उनको कान्छो छोरा बहादुर शाहलाई नाति रणबहादुर शाहले तातो तेल खन्याएर मारेको सत्य हो? इतिहासकारले लेखेका छन् यो कुरा। तर यस्ता कुरा पाठ्यक्रममा किन पढाइँदैन? कसको बेइज्जत हुन्छ यो कुराले? के विस्थापित राजा ज्ञानेन्द्रको चेतना अझै जिउँदो छ?

के नालापानी किल्लामा आठै प्रहर लड्ने बलभद्र कुँवर शाह राजाहरूबाट आजित भएर पन्जाबमा रणजीत सिंहको सेनामा लड्न भिड्न गएका होइनन्? नालापानी किल्लामा बलभद्रको वीरताले त्रसित अंग्रेजहरूले उहिले नै उनको सम्मानमा एउटा स्मारक खडा गरेका छन्। त्यहाँ बलभद्रको नाम गलत लेखिएको छ। अंग्रेजी उच्चारण मुताबिक त्यहाँ उनको नाम अभिलेखित छ, ‘बुल बड्डर!’ ज्ञानेन्द्र शाहलाई यस्ता कुराले छुन्छ? जनताको नासो जनतालाई सुम्पेको गफ दिएर पुग्छ?

ज्ञानेन्द्र शाह यस्ता एक स्वनामधन्य गफाडी हुन्, जसको तुलना चार्ल्स शोभराजसँग गरेर पनि पुग्दैन। यी मान्छेलाई आफ्नो सम्पत्तिको माया छ, नामको तुजुक छ तर देशको माया छैन। प्रमाण छताछुल्ल छन्। मान्छेका रूपमा दुःखी र बाउको नाममा असफल हुन् यी मान्छे, जसले नयाँ नेपाललाई नेतृत्व दिन सम्भव छैन।

कुन बुद्धिको मान्छे होला जो सोच्छ, अहिलेको अवस्थामा भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्र स्थापित गर्न सहयोग गर्नेछ? ती राजावादीहरू, जो भारतीय बलमा नेपालमा राजा विस्थापित भएको दाबी गर्छन्, आफै भारतीय कृपामा राजतन्त्र ‘फर्किने‘ आशामा छन्।

विद्वान अधिवक्ता गणेशराज शर्माले एउटा स्मरणमा लेखेका थिए, ‘एकपटक एउटा रहस्यमय तर प्रभावशाली मान्छे बीपी कोइरालालाई भेट्न आयो। उसले के भन्यो, थाहा छैन। तर बीपीले उनलाई त्यसै फर्काइदिनुभो। मैले पछि सोधेँ, को थियो त्यो? उहाँले भन्नुभो, ‘इन्डिया वा कतैबाट आएको मान्छे थियो, भन्यो, ‘तँ हुन्छ मात्र भन्, अहिले प्रधानमन्त्री बनाइदिन्छु (बनाइदिन्छौँ) …। मैले सोधेँ, ‘अनि किन मान्नुभएन त?’

गणेशराज शर्माको किताब भन्छ, ‘जो मान्छेले मलाई स्थापित गर्छु भन्छ, भोलि उसले मलाई विस्थापित पनि गर्न सक्छ।’ बीपीको सोचसँग हाम्रो तुलना हुने कुरै थिएन। हाम्रो तार जनतासँग मिल्नुपर्छ। जनता गलत सोच्न सक्छन्, उनीहरूलाई दैनिक जीवनको समस्याले पिरोलेको हुन्छ, उनीहरूलाई सार्वभौम बनाउने मात्र होइन, आफ्नो आँगन खोस्रेर सम्मानजनक जीवनयापन गर्ने अवस्थामा पुर्‍याउनुपर्ने नेताको कर्तव्य हुन्छ।’

ज्ञानेन्द्र शाहलाई यस्ता कुराको कुनै भेउ नै थिएन। सुरुमा उनले भारतसँग तीन वर्षको ‘अवधि’ मागे। भेषबहादुर थापा भारतमा राजदूत थिए। अटलबिहारी बाजपेयीका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रले उनलाई सुनाए, ‘योर किङ इज आस्किङ फर थ्री यर्स, व्हट त हेल इज गोइङ म्यान?’

भेषबहादुर थापाले भने, ‘हि डिड?’ उनीसँग बोल्ने कुरै थिएन। यो कुरा भेषबहादुर थापाको किताबमा छैन। तर उनले अचानक यो लेखकलाई त्यति नै बेला बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा भनेका थिए।

विस्थापित राजा ज्ञानेन्द्रले नबुझेको एउटा कुरा के हो भने भूराजनीति नेपालको राज्यसत्ता केन्द्रित अभीष्टबाट चल्दैन। हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघको मानसपुत्र हो अहिले भारतमा सत्ता समेटेर बसेको भाजपा। नेपाल हेर्ने भारतीय दृष्टिकोण अहिले पनि उस्तै छ, जो बेलायती उपनिवेशकालमा थियो। देशका हरेक प्रान्तबाट सिफारिस भएर आएका सरदार वल्लभभाइ पटेललाई प्रधानमन्त्री बनाउनुको सट्टा जवाहरलाल नेहरूलाई पदोन्नत गर्न महात्मा गान्धीको के बाध्यता थियो, त्यो उनै जानून्। तर पटेल प्रधानमन्त्री भएको अवस्थामा जसरी जुनागढ र हैदरावादमा उनले भारतीय सेना परिचालन गरे, त्यसैगरी नेपालमा भारतीय सेना आउने छेकछन्द मिलेको थियो। त्यो बेला भारतीय दानापानी खाएर बसेका नेपाली इतिहासकारहरूले यो बारेमा लेखेनन्।

बीपी कोइराला त्यो बेला भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादसँग एउटै कोठामा बसेका ‘जेलमेट’ थिए। कोइरालाको कुरा बिक्थ्यो त्यो बेला। राजा त्रिभुवन बिके। कोइराला बिकेनन्। इतिहासको यो पक्ष लेखिएकै छैन। कोइरालाकै कारण भारत सेना लिएर आउन हच्किएको हो। जवाहरलाल नेहरूले भारतको संसदमा आफ्नो सुरक्षा घेरा उत्तरको हिमालयसम्म पर्छ भन्दा बीपी कोइराला एक व्यक्ति थिए, जसले नेपालको सार्वभौमिकताको वकालत गरी चीनसँग सगरमाथा नेपालको हो भन्ने दाबी साक्षात् गरे। कहाँ थिए त्यो बेला राजा त्रिभुवन, महेन्द्र, अथवा त्यसपछि जन्मिएकाहरू?

मोदीको बाँधिएको हात 
नेपालका राजावादी भीडमा हिन्दुवादी अभियानकै आधारमा आन्दोलनको उभार ल्याउन सकिन्छ र त्यसमा भारतको सत्ताले भरथेग गरिदिन्छ भन्ने दासतापूर्ण मनोभावले अतिरञ्जना भरिदिएको छ भने त्यो स्वाभाविक हो। नेपालीले आफै सार्वभौम हुन कहिले जानेका छन् र? नेपाली समाज अंग्रेजी बोल्नेलाई ठूलो मान्छे ठान्छ भने त्यो पनि भारतबाटै आयातित औपनिवेशिक दासताको प्रकटीकरण हो।

नरेन्द्र मोदी हिन्दुत्वको नाम जपेर सत्तामा पुगे पनि नेपालमा उनको औकात काम लाग्दैन। किन लाग्दैन? एउटा कथा छ। उनी आफ्नै देशमा भिजेको मूसो हुन्। कथा यस्तो छ–

सन् १९८० को दशकमा इन्दिरा गान्धी भर्खर मारिएकी थिइन्। राजीव गान्धी प्रचण्ड बहुमत लिएर आएका थिए। तर ‘बोफोर्स’ नामको काण्डले उनको सत्ता ढल्यो। बोफोर्स एक ठूलो खालको तोप बनाउने कम्पनी थियो। यो बेच्ने दलाल सोनिया गान्धी परिवारका एक मित्र थिए। चालीस वर्षअघि एक अर्ब भनेको ठूलो पैसा थियो। त्यति नै घोटाला भएको थियो। यो पैसा जताजता गएको थियो, सबै बैंकमा ती खाता बन्द गरियो। तर अचानक लन्डनको एउटा बैंकमा तीस मिनेटको लागि एउटा संदिग्ध बैंक खाता खुला भयो। एउटा दलालले त्यहाँबाट सत्तरी लाख डलर निकाल्यो। त्यसपछि त्यो खाता अचानक बन्द भयो।

कांग्रेस आईको सरकार ढलेपछि आएको सरकारका रक्षामन्त्री जर्ज फर्नान्डिस थिए। उनले यो घोटालाको फाइल खोल्न खोजे। उनलाई ‘रअ’ को तर्फबाट एउटा गोप्य सन्देश आयो। त्यसमा भनिएको थियो, ‘लिभ सोनिया अलोन, डोन्ट टच द्याट फाइल एभर अगेन!’  सकियो, गयो! जर्ज फर्नान्डिस, जो इन्दिरा गान्धीको इमरजेन्सीविरुद्ध ट्रेड युनियन संगठन गर्ने एक महारथी थिए, रक्षामन्त्री हुँदा समेत सेलाए!

नरेन्द्र मोदीका लागि यो फाइल गजबको चुनावी मसला हुनेथियो। तर उनले खोलेनन्। किनभने चुनाव जितेर आउनेहरू जसरी आउँछन्, त्यसरी नै जान्छन्। स्थापित राज्यमा एउटा स्थायी प्रणाली हुन्छ।

सन् सत्तरीको दशकदेखि नै भारतले नेपालमा नियन्त्रित अस्थिरताको उपाय अपनाएको हो। जनताको टाउकोमा गिर खेल्ने राणा र शाहहरूले आसन्न संकटको आभास पाउन नसकेको मात्रै हो। त्यो बेला राजा र राणाहरू आफ्नो मुलुकमा आइपरेको संकटबाट विमुख थिए। आयातित रक्सी र मासुले साप्ताहिक भोज हुन्थ्यो। बैठकमा बोलाइएका बीपी कोईरालालाई कोटको रङ र बान्की मिलेन भन्दै मूलगेट बाटै फिर्ता पठाइएको पनि थियो।

शाह ठकुरीहरू भारतीयहरूको बारेमा कुरा गर्दा ‘धोती’ शब्द प्रयोग गर्थे। दरबारकै कर्मचारीलाई प्रयोग गरेर भारतीयहरू आफूलाई ‘धोती’ भनेको प्रत्यक्ष सुनिरहन्थे। औपचारिक समारोहमा राजा वीरेन्द्र भारतीय राजदूतसँग हात मिलाउँदा रानी ऐश्वर्य राजदूत पत्नीले लगाएको सारीको नापजोख गर्थिन्। त्यो पनि जमाना थियो। त्यो बेला पशुपतिमा लिच्छविकालीन एउटा मूर्तिलाई दुई घण्टा लगाएर हेरेर, फोटो खिचेर, मान्छे बोलाएर चर्तिकला गर्ने ज्ञानेन्द्र शाहलाई देख्ने मेरा छिमेकी केशवराज राजभण्डारी सायद अझै ज्युँदै होलान्।

मैले नेपाल नटेकेको बीस–बाइस वर्ष भयो होला, तर केशवराज दाइसँग भेट भयो भने म पक्कै सोध्नेछु, ‘त्यो मूर्तिचोर र अहिलेको राजा भन्ने मान्छे ज्ञाने एउटै हो?’

शाहजी! खाल्डो खन्नुस्, भर्‍याङ बिर्सिएला!

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

आजको `चर्चित बिचार’ मा हामीले अमेरिका निवासी राजेस मिश्रको लेख साभार गरेका छौं । मिश्रको लेख `नेपाल खबर’मा प्रकाशीत छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments